जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् ।
चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् ।
अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् ।
त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्यो ।
मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी भइन् । भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं, कल्पनाका श्रीमान गोपे सुनारले भने, सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिएन ।
स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उहाँले गुनासो गरे । सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ, सुनारले भने ।
चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी थिए ।