काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताएका छन् ।
डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डिन) केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस तथा प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा मन्त्री गुरुङले भूकम्प पश्चात्का पुनः निर्माणका साथै भौतिक संरचना निर्माण गर्दा भूकम्पीय जोखिम कम हुने किसिमले बनाउनुपर्नेमा जोड दिए ।
उनले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सम्पूर्ण इञ्जिनियरका साथै प्राविधिक क्षेत्रका जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताए । मन्त्री गुरुङले प्राविधिक क्षेत्रका कानुन तथा मापदण्डको कार्यान्वयन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गरी दिगो विकासलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
राष्ट्रिय सहरी भवन संहितालाई स्थानीय तहमा कार्यान्वय गराउन प्राविधिक जनशक्तिको आवश्यकता छ । भूकम्प पश्चात्का पुनः निर्माणलाई सुदृढ ढङ्गले उत्थान गर्न, दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन यस क्षेत्रको भूमिका महत्वपूर्ण छ, उनले भने ।
मन्त्री गुरुङले डिनलाई संस्थागत गराउने सम्बन्धमा आएका मागलाई मन्त्रालयले सहयोग गर्नेे प्रतिबद्धता जनाउँदै इञ्जिनियरिङ क्षेत्रको विविधता, डिन तथा प्राविधिक क्षेत्रको एकीकृत संरचना आजको आवश्यकता रहेको मन्त्री गुरुङले जिकिर गरे ।