बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

अर्बपतिको नयाँ कर्मथलो बन्दै अन्तरिक्ष, चार सिभिलियन पृथ्वीको तल्लो आर्बिटमा जाँदै


  • 3.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/666
    भदौ ३०, २०७८ बुधबार
    अर्बपतिको नयाँ कर्मथलो बन्दै अन्तरिक्ष, चार सिभिलियन पृथ्वीको तल्लो आर्बिटमा जाँदै

    १५ सेप्टेम्बरका दिन इतिहासमा पहिलोपटक ‘सिभिलियन क्रू’अन्तरिक्ष यात्रामा जाँदैछन्। यस अन्तरिक्ष यात्राका क्रू सदस्यमा ३८ वर्षीय अमेरिकन अर्बपति जेरेड आईज्याक क्यामन, २९ वर्षीया स्वास्थ्यकर्मी हेली अर्सेनेक्स, ५१ वर्षीया  प्रोफेसर तथा विज्ञान लेखिका सिआन प्राक्टर र ४२ वर्षीय डाटा इन्जिनियर क्रिस्टोफर सेम्ब्रोस्की छन् ।

    अर्बपति व्यापारी एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले मिशन ‘इंस्पिरेशन ४’ अन्तर्गत पृथ्वीको तल्लो आर्बिटमा चार सिभिलियनलाई पठाउन लागेको हो । विस्तारै अन्तरिक्ष पृथ्वीका अर्बपतिको नयाँ कर्मथलो बन्दै गइरहेको छ ।

    यसै वर्षको जुलाईमा दुई जना अर्बपतिले अन्तरिक्ष यात्रा गरेका थिए । ११ जुलाईका दिन ब्रिटिश अर्बपति रिचर्ड  ब्रानसन आफ्नो स्पेस कम्पनी ‘भर्जिन गैलेक्टिक’ को स्पेसशिपमार्फत १४ मिनेटमा २ लाख ८२ हजार फिट अर्थात झण्डै ८६ किमीमाथि अन्तरिक्षमा पुगेर फर्किएका थिए । अर्का अर्बपति जेफ बोजेस २० जुलाईका दिन आफ्नो स्पेस कम्पनी ‘ब्लू ओरिजिन’को अन्तरिक्षयान न्यू शेपर्डबाट ११ मिनेटमा झण्डै १०० किमीमाथि अन्तरिक्ष भ्रमण गरी फर्किएका थिए ।

    ४ अक्टूबर १९५७ मा तत्कालीन सोभियत यूनियनको स्पुतनिक १ बाट सुरु भएको अन्तरिक्ष विजयको क्रममा चार वर्षभित्रै अन्तरिक्षमा मानव पुग्न सफल भएको थियो । अप्रिल १२ सन १९६१ का दिन रूसी नागरिक यूरी गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानिस बने । यूरी गागरिन अन्तरिक्षमा पुगेको ६ दशकभित्रै सन् २०२१ मा अन्तरिक्ष यात्रा गर्नु अन्तरिक्ष पर्यटनका रूपमा स्थापित भयो,यो निश्चय पनि  विज्ञानको महान उपलब्धि नै हो ।

    इंस्पिरेशन ४ मिशन अन्तर्गत हुन गईरहेको अन्तरिक्ष यात्रा आफैंमा एउटा विशिष्ट अभियान हो भन्दा फरक पर्दैन । जुलाईमा दुई अर्बपतिले गरेको अन्तरिक्ष यात्रा र इंस्पिरेशन ४ मिशनमा तात्विक भिन्नता छ । रिचर्ड ब्रानसन र जेफ बोजेस पृथ्वीको तल्लो आर्बिटसम्म पुगेका होइनन् ।  यिनीहरू अन्तरिक्षको सीमाना (करमन लाइन) पार गरी भारहीनताको अनुभव हुने (झण्डै जीरो ग्रेभिटी) स्थानसम्म पुगेर फर्केका हुन् ।

    इंस्पिरेशन ४ मिशनका अन्तरिक्ष यात्रीहरु पृथ्वीको तल्लो आर्बिटमा पुग्छन् । यो अभियान दल पृथ्वीभन्दा झण्डै ५७५ किमी माथिसम्म पुग्छ । पृथ्वीको तल्लो आर्बिटमा यस अभियानका सदस्य तीन दिनसम्म रहने छन् ।

    यहाँ रहदा यी चारजनाले स्पेसएक्स निर्मित ड्रैगन क्याप्सुलमा बसेर२८ हजार किमी प्रति घण्टाका दरले (झण्डै साढ़े सात किमी प्रति सेकेण्डका दरले) पृथ्वीको परिक्रमा गर्ने छन् । ड्रागन क्याप्सुललाई पृथ्वीको एक परिक्रमा पूरा गर्न ९० मिनेटको समय लाग्नेछ । पृथ्वीलाई भने आफ्नो एक परिक्रमा पूरा गर्न २४ घण्टाको समय लाग्छ । ड्रागन क्याप्सुलले २४ घण्टामा पृथ्वीका १६ वटा परिक्रमा पूरा गर्नेछ । यसको अर्थ यो क्याप्सुलमा हुने मानिसले एक दिन अर्थात २४ घण्टामा १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त भएको हेर्न पाउँछन् । आफ्नो अक्ष (ऐक्सिस) को परिक्रमा गर्दा पृथ्वीको गति १,६७४ किमी प्रति घण्टा अर्थात ४६५ मिटर प्रतिसेकेण्ड हुन्छ ।

    मानिसबाट भएका अन्तरिक्ष यात्राको इतिहास स्मरण गर्ने हो भने हुन गइरहेको इंस्पिरेशन ४ मिशन १९७२ मा सम्पन्न भएको अमेरिकी चन्द्र अभियान अपोलो १७ पछिको महत्वाकांक्षी अभियान हुन गइरहेको छ ।

    यस अमेरिकी अभियानमा तीनजना अमेरिकी यूजीन सेरनन,रोनाल्ड इवांस, हैरिसन स्कमिट यात्रीका रूपमा रहेका थिए । अन्तिम पटक पृथ्वीदेखि सबैभन्दा टाढासम्म पुग्ने श्रय यी तीन जनालाई प्राप्त छ । यसभन्दा अघि अपोलो ११ (पहिलो पटक चन्द्रमामा ओर्लिने) का तीनजना यात्री नील आर्मस्ट्रांग, माइकल  कालिंस, एडविन बज एल्ड्रिन लगायत अन्य ५ वटा अमेरिकी चन्द्र अभियानका १५ जना यात्री पृथ्वीभन्दा सर्वाधिक दूरीसम्म पुगेका थिए । अपोलो अभियानका अमेरिकी चन्द्र यात्री बाहेक अन्य कुनै पनि देशका कुनै पनि अन्तरिक्ष यात्री इंस्पिरेशन ४ पुग्ने दूरी सम्म पुगेका छैनन् ।

    इन्टरनेशनल स्पेस स्टेशन (आइएसएस) सम्म विभिन्न देशका सयाैं मानिस पुगेका छन् । तर ‘आइसएस’ पृथ्वीदेखि झण्डै ४०० किमीमाथि स्थापित छ । यही रहेर आइएसएसले पृथ्वीको परिक्रमा गर्छ । आइएसएससम्म पुग्ने अन्तरिक्ष यात्री पृथ्वीदेखि ४०० किमी माथिसम्म मात्रै पुगेका हुन्छन् । यसैगरी अन्तरिक्षमा स्थापित अर्को मानवीय वैज्ञानिक उपकरण हब्बल टेलिस्कोप पृथ्वीको  तल्लो आर्बिटमा ५४० किमीको दूरीमा रहेको छ । इंस्पिरेशन ४ मिशन ५७५  किमी माथिसम्म पुग्छ । भन्न सकिन्छ अहिलेसम्म यस दूरीमा अमेरिकन अन्तरिक्ष यात्री बाहेक अन्य कोही पुग्न सकेको छैन ।

    इंस्पिरेशन ४ को यात्रा अमेरिकाको फ्लोरिडा स्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समय अनुसार बुधबार राति ८ बजेर दुई मिनेटमा हुने तय गरिएको छ । नेपाली समय अनुसार यो १६ सेप्टेम्बर बिहीबारको बिहान लगभग ५ बजेर ४५ मिनेट हुन आउँछ । स्पेसएक्सको आधिकारिक यूट्यूब पेज,नेटफिक्स लगायत विभिन्न च्यानलले यसको प्रत्यक्ष प्रसारण गर्ने छन् ।

    तीन दिनसम्म पृथ्वीको तल्लो आर्बिटमा रही पृथ्वीका अनेको परिक्रमा गरेर इंस्पिरेशन ४ को यात्रीदल पृथ्वीमा फर्किनेछ । स्पेसएक्सको यस अभियानले अन्तरिक्ष पर्यटनको ढोका खोल्न गइरहेको छ ।

    अब आउने दिनमा कोही पनि कार भाडामा लिएर पृथ्वीको सयरमा निस्के जस्तै अन्तरिक्षयान भाडामा लिएर अन्तरिक्ष यात्रामा जान सक्छ । यस मिशनको बखान गर्दै जार्ज वाशिंगटन युनिभर्सिटीका प्रोफेसर जान लोगसदोन भन्छन्- यो कस्तो हो भने तपाईं एउटा स्वचालित ढुङ्गा भाडामा लिएर ढुङ्गा खियाउँदै अन्तरिक्षको सैर गर्न जान सक्नुहुन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij