शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

यार्सागुम्बा संकलन १० जेठदेखि खुला हुने


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/7801
    बैशाख १३, २०८१ बिहीबार
    यार्सागुम्बा संकलन १० जेठदेखि खुला हुने

    काठमाडौं । हिमाली जिल्ला डोल्पामा आगामी १० जेठदेखि औपचारिक रूपमा यार्सागुम्बा संकलन गर्न खुला गरिने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले १० जेठदेखि औपचारिक रूपमा यार्सागुम्बा संकलन खुला गर्ने निर्णय गरेको हो ।

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा संकलन गर्न खुला गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

    बैठकले यार्सा संकलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ ।

    प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा संकलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् ।

    डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् । यार्सागुम्बा संकलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ ।

    मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ । निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैध रूपमा मानिसहरू जाने गरेका छन् ।

    डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ । निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ ।

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताए । तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उनको भनाइ छ ।

    डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको यार्सागुम्बा संकलन गर्न छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको संख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।

    समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का ज्ञानबहादुर बुढाले बताए ।

    डोल्पामा यार्साको व्यावसायिक रूपमा संकलन सुरु २०४० सालदेखि भएको हो । २०७५ देखियता १२ जना यार्सा संकलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा संकलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व संकलन गर्ने गरेको छ ।

    अघिल्लो वर्षमात्रै छोडपुर्जी र संकलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले दुई करोड तीन लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । संकलकबाट बर्सेनि लाखौँ राजस्व उठाए पनि स्वास्थ्य बीमा भने गरिँदैन ।

    निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए ।

    डोल्पामा नेपालमै सबैभन्दा धेरै र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij