मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र पत्रकार रामकुमार रिजालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता दर्ता भएको छ । उनीहरु दुई जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
आयोगका प्रवक्ता नारायण रिसालले शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष मोक्तान र पत्रकार रिजालसहित कैलाश गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापाल त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको जनाएका छन् ।
आयोगले अध्यक्ष मोक्तान, फिलिङ्गो मिडियाका सञ्चालक पत्रकार रामकुमार रिजाल लगायतको संलग्नतामा २ लाख ६० हजार ९ सय रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । आयोगले युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।
‘कैलाश गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय भुक्तानी गरी लिए दिएको पुष्टि हुन आएको छु, आयोगले भनेको छ, उक्त अनियमिततामा संलग्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।