प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाको शत्रुतापूर्ण नीतिहरूको सामना गर्न ‘अजेय सेना’ निर्माण गर्ने वाचा गरेका छन् । कोरियाली प्रायद्वीपलाई अस्थिर बनाउने अमेरिकाको शत्रुतापूर्ण नीतिहरू र दक्षिण कोरियाको सैनिक विकासको सामना गर्न आफ्नो देशको हतियार विकास आवश्यक रहेको नेता किमले बताएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । अमेरिकाले आफ्नो देशसँग दुश्मनी छैन भनी बारम्बार संकेत गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको किमको भनाइ छ ।
किमले प्योङयाङले युद्ध सुरु गर्न नभइ आफ्नो प्रतिरक्षा गर्न मात्र सैन्य शक्ति वृद्धि गरिरहेको बताएका छन् । उनले उत्तर कोरिया आफ्नो छिमेकीसँग युद्ध गर्न नचाहेको पनि उल्लेख गरेका छन् ।
किमले मंगलबार विभिन्न प्रकारका विशाल क्षेप्यास्त्रहरूको साथ एक दुर्लभ रक्षा प्रदर्शनी डिफेन्स डिवेलभ्मन्ट एक्जिविशनमा यस्तो बताएको केसीएनएले जनाएको छ ।
“हामीले कसैसँग युद्धको बारेमा छलफल गर्दैछैनौँ”, उनले भनेका छन् । तर युद्ध रोक्न र राष्ट्रिय सम्प्रभुताको रक्षा गर्न युद्ध प्रतिरोधी क्षमताको विकास गरिरहेका किमको भनाइ छ ।
उत्तर कोरियाले हालै उसले दाबी गरेको नयाँ हाइपरसोनिक र एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र परीक्षण गरेको छ । यसैबीच, दक्षिण कोरियाले पनि आफ्नै पनडुब्बी हतियार परीक्षण गरेको छ ।