बागलुङ असार ९, जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि हरित विद्यालय कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । १७ औँ नगर सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरका प्रमुख नर बहादुर पुनले एक वडा एक आवासीय माध्यामिक विद्यालय, एक विद्यालय एक करेसाबारी बनाउने गरि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन।
हरित कार्यक्रमबाट विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजा समेत तयार हुने विश्वास लिदै निती तथा कार्यक्रममा पुनले पढ्दै कमाउँदै कार्यक्रमद्वारा उद्धमशिलतालाइ उत्पादनसँग र शिक्षकलाई प्रबिधिसँग जोड्ने क्रियाकलापहरु सञ्चालनमा ल्याउने कुरामा जोड दिदै स्थानीय उत्पादनलाई पाठ्य सामाग्रीको रुपमा प्रयोग गरिने कुरा दर्शायका छन ।
पालिकाको नीतिअनुसार सञ्चालन हुने एम्बुलेन्सले किसानको उत्पादनलाइ बजारसम्म पठाउने र घरघरमा पुगेर किसानलाई कृषि प्राबिधिक सेवा दिने काममा कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताए। पशुलाई खोप लगाउने, औषधि तथा अन्य उपचार गराउनेदेखि पालिकाभित्रका सबै किसानलाई परिचयपत्र दिनुपर्नेमा जोड दिएका छन। सबै किसानलाई सूचीकरण प्रणालीमा आबद्ध बनाई नगरपालिकाले नै परिचयपत्र दिने भएको छ। जैमिनीलाई सबै किसान सूचीकृत पालिका बनाइने नीति आर्थिक बर्ष २०८२।०८३ को बजेटमा ल्याइएको नगरप्रमुख नरबहादुर पुनले भनेका छन।
उनले भने–‘अघिल्लो वर्ष सेरा जाऔँ, केरा खाऔँ’ भन्ने नारा बनाएपछि सयौँ हेक्टर जमिनमा हजारौँ केरा रोपिएको छ । यस वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिँदै सुन्तला र केराका पकेटहरू विस्तार गर्दै लैजाने नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसानसँग जोडिएकाले प्राविधिक सीप, अनुदान र बजारीकरणकालागि किसान सूचीकरण आवश्यक छ ।’
कृषि विकासमा मात्रै जैमिनीले ३१ बुँदे नीति तथा कार्यक्रम ल्याएको हो । जसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको छ । उत्पादन र बिक्रीमा आधारित अनुदान दिई काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याइएको छ ।
व्यावसायिक रूपमा पालिने गोरु, राँगो र बंगुरलाई प्रोत्साहन गरिनेछ । पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातका लागि तयारी बनाउने योजना जैमिनीको रहेको छ । नेपाल सरकारले पनि चीनमा मासु निर्यात गर्ने लक्ष्य बनाएको छ । रैथाने बालीको उत्पादन बढाउने नीति अबलम्बन गरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाङ, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने । छोरी जन्मे घर, खुसीको लहर भन्ने मूल नारा सहित सञ्चालित जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिएको छ ।
जैमिनीको छोरी कार्यक्रम अन्तरगत छोरीको जन्म दर्ता गराएपश्चात पालिकाले रु २ हजार दिने कुराको पनि घोषणा गरेको छ ।