काठमाडौँ । दशैँ बिदा पछिको दोस्रो कारोबारमा सोमबार अत्यासलाग्दो गिरावट आएको छ । सोमबार ६९.५१ अंकको गिरावट सहित नेप्से परिसूचक २५८७.४५ बिन्दुमा अडेको छ । दशैँ बिदापछि खुलेको शेयर बजारले आइतबार आशाको सञ्चार गरे पनि सोमबार बजार खुल्नासाथ गिरावट देखिएको थियो ।
आज कारोबार भएका १८६ कम्पनी मध्ये १८२ वटामा गिरावट आएको छ भने मात्र ४ वटामा सकारात्मक बृदी देखिएको छ । आजको कारोबारमा सबै उपसूचकहरू नकारात्मक देखिएका छन् । आजको नेप्सेमा २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बाराबारको कारोबार भएको छ ।
आज कारोबारको पहिलो १५ मिनेटमा लगभग ३५ अङ्कको गिरावट देखिए पनि यो समाचार तयार पार्दा अर्थात् कारोबारको ४५ मिनेटसम्म आइपुग्दा बजार उतार चढावपूर्ण देखिएको थियो । ११ बजे खुलेको कारोबार सुरु हुँदा २६५५ बिन्दुमा रहेको नेप्से परिसूचक ११:१७ बजे २६२० अङ्कमा झरेको थियो । त्यसपछि बजार सम्हालिने क्रम सुरु हुँदा ११:३० मा परिसूचक २६३० अङ्कमा पुगेको थियो ।
दसैँ बिदा पछिको बजार खुला भएको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । दशैँ अघिको अन्तिम कारोबार दिन २६३९.३८ विन्दुमा बन्द भएको नेप्से, हिजो १७.५९ अङ्क बढेर २६५६.९६ विन्दुमा बन्द भएको थियो ।
आइतबार २१८ कम्पनीको २१ हजार ३२८ पटकको कारोबारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको ४७ लाख ६० हजार २९५ कित्ता शेयर खरिदबिक्री भएको थियो । लगानीकर्ताहरू ‘फेस्टिभ मुड’ मा भएका कारण कारोबार रकम घटेको अनुमान गरिएको छ ।