आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

कहिलेसम्म वर्षा रोकिएला ?


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/1279
    कात्तिक ३, २०७८ बुधबार
    कहिलेसम्म वर्षा रोकिएला ?

    काठमाडौं । मनसुन बिदा भए पनि केही दिनयता देशभर वर्षा भइरहेको छ । वर्षा याम सकिए पनि अनपेक्षित रूपमा भइरहेको भीषण वर्षाका कारण बाढी र पहिरोबाट देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति भएको छ । 

    वर्षा हुने क्रम अझै केही दिन रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज रातभरसम्म वर्षा हुने क्रम उस्तै रहने देखिएको छ ।

    ‘भोलि (बिहीबार)बाट केही कम हुने सम्भावना छ’, बुधबार बिहान नेपालखबरसँगको कुराकानीमा मौसमविद् श्रेष्ठले भने, ‘तर वर्षा हुने क्रम पूर्ण रूपमा भने अझै केही दिन रोकिने सम्भावना देखिन्न ।’

    उनका अनुसार देशको पश्चिमी क्षेत्रका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजबाट वर्षाको मात्रा केही कम हुने देखिए पनि त्यसयता पूर्वमा भने बढी वर्षा हुने समेत सम्भावना छ ।

    अहिले पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मध्यमसम्म वर्षा भइरहेको उनले जानकारी दिए । 

    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । 

    जसमा भनिएको छ, प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र प्रदेश १ का थोरै र प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव छ ।​

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij