काठमाडौँ, ६ असार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको वातावरण तय भएको छ ।
यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छ वटा मन्त्रालयको समुहिक रूपमा छलफल चल्ने कार्यसूची छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ ।