नेपालगञ्ज, १८ असार नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले नेपालगंजको धम्बोझी चोकबाट पक्राउ गरेको छ ।
मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रबक्क्ता युवराज खड्काले जानकारी दिएका छन।
“बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, सूचना अधिकारी खड्गाले भने । विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहनुभएका मिश्र अहिले नेकपा एमालेका केन्द्रीय सदस्य हुन। मधेस आन्दोलनबाट आएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए ।
स्वतन्त्र राजनीतिक समूहबाट उनि सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए । पछि उनि एमाले प्रवेश गरेका थिए । मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या ३ पुगेको छ ।
यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
उक्त बैंकमा अहिलेसम्म रु २ अर्ब ५० करोड हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको छ ।