काठमाडौं । झापाका रंगकर्मी २७ वर्षीय प्रकाश दाहाल चार दिनदेखि बेपत्ता भएका छन् । झापाको हाल्दिबारी १ गोल्धापमा घर भएका दाहाल दमकबाट बेपत्ता भएका हुन् ।
थ्रेटरमा काम गर्दै आएका दाहाललाई नदेखेपछि परिवारलाई सम्पर्क गरेका थिए । परिवारले पनि आफन्त तथा साथीभाइसँग बुझ्दा नभेटिएपछि प्रहरीमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय दमकले रंगकर्मी दाहालको खोजी गरिरहेको छ ।
'हामी कहाँ हराएको भनेर परिवारले उजुरी दिनु भएको छ । उहाँका आफन्त साथीभाइ अन्यसँग सोधपुछ देखि खोजी भइरहेको छ,' इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने ।
दाहालले बोक्दै आएको मोबाइल भने छोडेर गएका छन् । मोबाइल बोकेको नहुँदा मोबाइलबाट ट्रायक गरेर खोजी गर्ने प्रहरीको बाटो बन्द भएको छ । त्यस्तै मङ्गलवार इनरुवातिर खालि खुट्टा हिँड्दै गरेको भन्ने सूचना आएकाले प्रहरीले इनरुवा क्षेत्रमा पनि प्रहरीलाई एक्टिभ गराएको थियो ।
'कसैले खाली खुट्टा इनरुवा क्षेत्रमा हिँडिरहेको भन्ने सुन्निएको थियो । त्यसपछि हामीले त्यहाँको प्रहरीलाई समेत खबर गरेका थियौँ । तर फेला पर्नुभएन,' डिएसपी कार्कीले भने । उनले नेपाली चलचित्र पशुपतिप्रसादमा समेत काम गरिसकेका छन् । उनी दमकमा बस्दै आएका थिए ।