सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

संखुवासभा घटनाः नगद र गरगहना सुरक्षित, भेटिएपछि हत्या रहस्यमय


  • 3.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/569
    भदौ २३, २०७८ बुधबार
    संखुवासभा घटनाः नगद र गरगहना सुरक्षित, भेटिएपछि हत्या रहस्यमय

    बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो । विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए । त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो । तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ । प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ ।

    संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो । बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो । तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो । 

    वृद्ध बौदमान मात्र सकुशल भेटिए । सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन । प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन । 

    खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ । एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन् । घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो । 

    तालिम प्राप्त कुकुरसहितको प्रहरीको विशेषज्ञ टोलीले समेत घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले हत्यारा पक्राउ पर्न नसक्ने हो कि भन्ने चिन्ता भएको स्थानीय बताउँछन् । हत्यारा पक्राउ नपर्दा स्थानीयमा त्रास सुरु भएको छ । कतै हत्यारा आफ्नो घरमा पनि आउने हुन कि भन्ने त्रासले साँझ पर्नासाथ ढोका थुनेर बस्न थालेको स्थानीय बताउँछन् । घटनापछि गाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि स्थानीयको मनको त्रास हट्न सकेको छैन । बौदमानका एक छिमेकीले भने, ‘यत्रतत्र छरिएका शव देखिएको कुरा झलझली आँखामा आउँछ । साँझ पर्ना साथ डर लाग्छ ।’ 

    जिल्लाको प्रहरी टोलीले सोमबार दिनभर र संघीय एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित आएको विशेषज्ञ एसपी भीम दाहालको टोलीले मंगलबार बिहानबाट अनुसन्धान सुरु गरेको थियो । शव संकलन गरेर पोस्टमार्टमका लागि मंगलबार धरानस्थित बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टमपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए । घटनाको छानबिनका लागि सीआईबीको टोलीसमेत मंगलबार साँझ घटनास्थल आइपुगेको छ । सीआईबीको टोली आइसकेकाले चाँडै अभियुक्तसम्म पुग्ने डीएसपी सुवेदीको भनाइ छ । उनले अभियुक्त पक्राउ नपरेसम्म घटनास्थलमा नै बसेर अनुसन्धान गर्ने बताए । 

    अनुसन्धानमा तालिम प्राप्त कुकुरको प्रयोग गरे पनि रातभर पानी परेकाले अनुसन्धान कठिन भएको प्रहरीको भनाइ छ । २४ घण्टापछि मात्र घटनास्थलको अनुसन्धान सुरु भएकाले सत्यतथ्य पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ । अभियुक्त भाग्न नदिन जिल्लाका नाकाहरूमा उच्च सुरक्षा व्यवस्था गरिएको डीएसपी बस्नेतले बताए ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij