काठमाडौं । प्रिन्सिपल रूपेश स्वर्णकार हत्यामा संलग्न फरार सार्प सुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई हिजो (मंगलबार) राति दुवै खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको हो ।
भारत मोतिहारी दर्पाथाना–१, सुक्लहियाका २५ वर्षीय सुटर सुजितकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गएराति बजेबाराको विश्रामपुर गाउँपालिका—३ मा फेला परेका सिंहलाई प्रहरीले पक्राउ गर्न खोज्दा भाग्न थालेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो । सिंहको हाल जिल्लाको कलैया अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।
उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच राउड गोली बरामद गरेको छ ।
पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको बारा प्रहरीले बताएको छ ।