भारतको नयाँ दिल्लीस्थित ‘नेसनल डिफेन्स कलेज’ मा सञ्चालित ‘नेसनल डिफेनस कोर्स–२०२१’ मा सहभागी ‘फ्याकल्टी, डिफेन्स कोर्स मेम्बर तथा स्पाउसेज सम्मिलित ३९ सदस्यीय टोली नेपाल आउँदैछ ।
‘रेयर एडमिरल धिरेन भिगको नेतृत्वमा रहेको भ्रमणदलले (असोज ३१ गते) देखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणको सिलसिलामा उक्त डेलिगेसन टिमले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने छन् । ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेक्वा पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् ।
यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागि शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको नेपाली सेनाले जनाएको छ ।
छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।