काठमाडौं । जथाभावी ब्याजदर बढाएका बैंकहरूलाई त्यो घटाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर १० प्रतिशतभन्दा बढी नबढाउन बैंकहरूलाई भनेको हो ।
यही कात्तिक १ गतेदेखि लागू हुनेगरी हिमालयन, एनआईसी एसिया र लक्ष्मी बैंकले निक्षेप ब्याजदर ११ प्रतिशत तथा अन्य बैंकले १० प्रतिशतभन्दा माथि पुर्याएका छन् ।
राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार अब गत असोजको तुलनामा कात्तिकमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्ने भएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्,’ निर्देशनमा भनिएको छ ।
गत असोजको तुलनामा कात्तिकमा बैंक तथा वित्तीय संस्थाले २५ देखि ३० प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।
पुरानो ब्याजदर रद्द गरेर नयाँ ब्याजदर प्रकाशन गर्न आज बुधबारसम्म अन्तिम समय तोकिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले २०७८ कात्तिक महिनाका लागि प्रकाशन भइसकेको ब्याजदरमा समेत संशोधन गरी २०७८ कात्तिक ३ भित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यस्तो ब्याजदर २०७८ कात्तिक ५ भित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ ।’