काठमाडौं । नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ । टेलिकमले आफ्नो जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन) मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो ।
पहिले यो नम्बर ९८ अंकबाट सुरू भइरहेको थियो । अहिले सिडिएमएको जस्तै ९७ बाट सुरू भएको टेलिकमका प्रवक्ता राजीव जोशीले जानकारी दिए ।
उनका अनुसार अहिले ९७६ को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ ।
अंक योजनाका आधारमा ९७४, ९७५ र ९७६ मध्ये ९७६ वितरण गरिरहेका छौं, जोशीले भने ।
पहिले जिएसएमका लागि ९८४, ९८५, ९८६ गरी तीन श्रृंखलामा नम्बर वितरण भइरहेको थियो । यी श्रृंखलाका नम्बर बाँकी रहेका र वितरणमा नगइसकेको भए ती पनि वितरण हुने उनले बताए ।
अब ९७६ उपलब्ध भएको छ तर ९८ का पूरै सकिएर पठाएको भन्न मिल्दैन । स्टकमा रहेका ९८ का केही खाली नम्बर छन् भने पाइन्छ । त्योसहित ९७६ वितरणमा जान्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमतिअनुसार जिएसएममा ९७ श्रृंखला प्रयोगमा आउन थालेको कम्पनीको भनाइ छ ।
गत साउनदेखि सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिकमले सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ ।
प्रवक्ता जोशीकाअनुसार हाल सिडिएमएका ग्राहक करिब चार लाख ३८ हजार छन् । यी सबैलाई जिएसएममा लैजाने योजना टेलिकमको छ ।