काठमाडौं, २० साउन – सशस्त्र प्रहरी बल एपीएफ अन्तर्गतको नेपाल एपीएफ क्लबले खेल सामग्री नेपालकै एक नंम्बर स्पोर्ट ब्राण्ड कम्पनी केल्मी नेपालसँग आफ्नो सहकार्यलाई थप मजबुत बनाएको छ । सन् २०१९ देखि सुरु भएको सहकार्यलाई नवीकरण गर्दै दुवै पक्षबीच २०३० अगस्ट ४ सम्मको लागि नयाँ सम्झौता भएको छ ।
हलचोकस्थित क्लब मुख्यालयमा मंगलबार आयोजित विशेष समारोहमा क्लब अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कमल प्रसाद तिम्सिना र केल्मी नेपालका आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रा.लिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच सम्झौता हस्ताक्षर भएको छ ।
यस बृहत् सम्झौता अनुसार केल्मीले एपीएफ क्लबका पुरुष तथा महिला भलिबल, पुरुष सिनियर फुटबल, यू १६ र यू १८ फुटबल, ग्रासरुट फुटबल र ब्याडमिन्टन टोलीलाई आवश्यक खेल पोसाक र सामग्रीहरू उपलब्ध गराउनेछ । यसले खेलाडीको मनोबल उच्च बनाउने विश्वास समेत व्यक्त गरिएको छ ।
केल्मीसँगको सहकार्यले एपीएफका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका सामग्री प्रयोग गर्ने अवसर मिलेको क्लब अध्यक्ष तिम्सिनाले बताए । उनले भने, “यसले क्लबको समग्र प्रदर्शनमा सकारात्मक प्रभाव पारेको छ ।”
केल्मीले यो सम्झौता मार्फत एपीएफका खेलाडी मात्र नभई सम्पूर्ण सशस्त्र प्रहरी बलका बहालवाला र अवकाशप्राप्त कर्मचारी, सहिद परिवार, एपीएफ स्कुल र प्रहरी परिवार महिला संघका सदस्यहरूलाई पनि खेल सामग्री खरिदमा २०–२५ प्रतिशतसम्म छुटको सुविधा समेत उपलब्ध गराउनेछ ।
कार्यक्रममा कामारु ट्रेडिङका निर्देशक न्यौपानेले विभागीय क्लबहरूसँग सहकार्य गर्नु गौरवको विषय भएको बताउँदै केल्मी नेपाली खेलकुदको विकासमा अझ सशक्त रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस्तै, समारोहमा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी, प्रशिक्षक र कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो ।
उल्लेखनीय छ, केल्मीले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब सहित राष्ट्रिय टिमहरूलाई पनि प्रायोजन गर्दै आएको छ, जसले नेपाली खेलकुदमा केल्मीको गहिरो उपस्थिति देखाउँछ ।