पाटन ललितपुर, २० साउनः नेपालको सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी – नाडा अटो शो–२०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको विस्तृत जानकारी दिएको हो । अध्यक्ष करण चौधरीका अनुसार, “नवप्रवर्तन र भविष्यतर्फको सोच”का साथ यस वर्षको नाडा अटो प्रदर्शनी विशिष्ट हुने छ ।
उनले भने, “यो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, आधुनिक र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो ।”
प्रदर्शनीका विशेषताः
१९ वटा चारपाङ्ग्रे सवारी, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपाङ्ग्रे सवारी, ३५ कम्पनी, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय संस्था
१२५ भन्दा बढी प्रदर्शक कम्पनीहरू तीन लाख वर्गफुट क्षेत्र, एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र, १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ ।
यस प्रदर्शनीको मुख्य आकर्षण युनिट्री रोबोट्सका स्वचालित चारपाङ्ग्रे रोबोटहरू हुनेछन्, जसले कृत्रिम बुद्धिमत्ताको नयाँ युगको संकेत दिने आयोजकहरूले जनाएका छन् ।
‘गो फर मुभ’ भन्ने नारासहित आयोजना हुने अटो शोले प्रविधि, ग्राहक अनुभव र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीतन्त्रलाई एकै थलोमा ल्याउने लक्ष्य राखेको छ ।
उपाध्यक्ष राजनबाबु श्रेष्ठका अनुसार, “नाडा अटोमोबाइल्स एसोसिएसन नेपालमा अटो क्षेत्रलाई सुरक्षित, विश्वासिलो र अन्तरराष्ट्रियस्तरको बनाउने दिशामा निरन्तर क्रियाशील छ ।”
प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवा क्षेत्रहरूलाई सहज पहुँच र सुरक्षासहित व्यवस्थित रूपमा विभाजन गरिएको छ ।