काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहमा भर्ना आवेदन खुला गरेको छ । त्रिविले शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना आवदेन खुला गरेको हो ।
जसअन्तर्गत ‘राजनीतिशास्त्र शिक्षा’ केन्द्रीय विभाग त्रिविले पनि भर्ना आवेदन खुला गरेको छ । आवेदन फारम यहीँ मंसिर १ गतेदेखि २५ गतेसम्मका लागि खुला गरेको उक्त विभागका प्रमुख श्यामप्रसाद फूएलले जानकारी दिए ।
फूएलका अनुसार ‘राजनीतिशास्त्र शिक्षा’ अध्ययनका लागि प्रथम सेमेस्टरमा भर्ना आवेदन खुला गरिएको छ । भर्नाका लागि मान्यताप्राप्त जुनसुकै क्याम्पस वा कलेजबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
‘राजनीतिशास्त्र शिक्षा’ अध्ययनका लागि विद्यार्थीहरूले घरमै बसेर पढ्न सक्नेछन् । जसका लागि विभागले भर्चुअल माध्यमबाट पठनपाठन गराउनेछ भने विद्यार्थीको भौतिक उपस्थितिमा पनि पढाइ हुनेछ ।
विगतका वर्षहरूदेखि नै ‘राजनीतिशास्त्र शिक्षा’ले विद्यार्थीहरूको सुविधालाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट पठनपाठन गराउँदै आएको छ । यसवर्ष पनि भर्चुअल माध्यमबाट पढाइ हुनेछ ।
कुनै पनि पेशा, व्यवसाय वा जागिर गर्दै गरेकाले पनि राजनीतिशास्त्र शिक्षा पढ्न सक्ने विभागीय प्रमुख फूएल बताउँछन् ।
‘राजनीतिशास्त्र शिक्षा अध्ययनका लागि विश्वविद्यालय धाईरहनु पर्दैन । तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ बसेर पढ्न सक्नुहुन्छ । किनकि हामीले विगतदेखि नै विज्ञान–प्रविधि (भर्चुअल– जुम, गुगल, म्यासेन्जर आदि)को प्रयोगमार्फत पढाइरहेका छौँ,’ उनी भन्छन्, ‘कुनै पनि पेशा, व्यवसाय वा जागिर गर्दै पढ्न सक्ने यो सुनौलो अवसर पनि हो । त्यस्तै यो विषय पढेर तपाईंले जागिर नै गर्नुपर्छ भन्ने पनि होइन । तपाईंले राजनीति गर्न सक्नुहुन्छ । देशको राज्यव्यवस्था, शासनशैलीमा सुधार ल्याउन यो विषयले महत्वपूर्ण टेवा पुर्याउँछ ।’
विरलै विश्वविद्यालय वा क्याम्पसमा पढाइ हुने ‘राजनीतिशास्त्र शिक्षा’को माग बढ्दो छ । किनकि यो विषय पढेका अधिकांश विद्यार्थी बेरोजगार बस्नुपरेको छैन । पढाइ पूरा गरेकै भोलिपल्ट रोजगार बनेका छन् ।
भर्ना आवेदन फारम वेवसाइड https://tufoe.edu.np मार्फत भर्न सकिने त्रिविले जनाएको छ । प्रवेश परीक्षा मंसिर २५ गते दिउँसो १ बजे हुनेछ भने नतिजा प्रकाशन आगामी पुष ४ गते हुनेछ ।
प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले पुष ५ गतेदेखि १० गतेसम्म भर्ना हुन सक्नेछन् भने कक्षा सञ्चालन पुष ११ गतेदेखि हुनेछ ।
थप विवरण :