काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन । उनले युवालाई गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्तिमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।
शुभकामना सन्देशमा अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा युवाको योगदान अपरिहार्य रहेको बताउँदै, राष्ट्रको आर्थिक, सामाजिक र राजनीतिक सबलीकरणमा उनीहरूको अग्रसरता महत्त्वपूर्ण हुने उल्लेख गरेका छन । उनका अनुसार, आजको पुस्ताले दृढ संकल्पका साथ देशको रुपान्तरणको नेतृत्व गर्नुपर्ने समय आएको छ ।
दाहालले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सबल बनाउन विशेष प्राथमिकता दिएको स्मरण गर्दै, यस दिशामा गरिएका नीतिगत तथा कार्यक्रमगत प्रयासहरूलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएका छन । उनले युवा दिवसलाई नयाँ संकल्पका साथ मनाउँदै, युवाहरूले राष्ट्रिय हित र विकासका लक्ष्यप्रति एकजुट भएर योगदान गर्नुपर्नेमा जोड दिएका छन ।
उनको सन्देशमा युवाहरूलाई सिर्जनात्मक सोच, नवीनता र अनुशासनका साथ अघि बढ्न प्रेरित गर्दै, राष्ट्रिय स्वाभिमान र जनताको आकांक्षालाई पूरा गर्ने अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दाहालले युवालाई एकता, समर्पण र दृढताको मार्गमा अघि बढ्न शुभकामना व्यक्त गरेका छन ।