जुम्ला । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् ।
जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए ।
जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।
आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् ।
कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका तिला गाउँपालिका–१ मा रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताए ।