काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड´ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् ।
कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताए ।
उनले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन् ।
शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले भने, भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ ।
यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ ।
यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्छौँ ।