संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजराइली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बिहीबार बताए ।
इजराइलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले सोमबार ‘गाजाबासीहरूको निर्वासनलाई प्रोत्साहन गर्नका लागि एक समाधान’ लाई बढावा दिन र गाजापट्टीमा इजराइली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान गरेका थिए ।
उनको उक्त टिप्पणी एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजामा बसोबास गर्नेहरूलाई फिर्ता गर्न आह्वान गरेको भोलिपल्ट आएको हो ।
स्ट्रोमिचले इजराइलले गाजाका करिब २४ लाख प्यालेस्टिनीहरूलाई गाजा छाड्नका लागि ‘प्रोत्साहन’ गर्नुपर्ने बताएका थिए ।
गाजाका नागरिकहरूलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने योजनामा उच्चस्तरीय इजराइली अधिकारीहरूको टिप्पणीबाट अत्यन्त चिन्तित छु, मानवअधिकार प्रमुख टर्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, अन्तर्राष्ट्रिय कानूनहरूले संरक्षित क्षेत्रभित्र संरक्षित व्यक्तिहरूलाई जबरजस्ती स्थानान्तरण वा कब्जा गरिएको क्षेत्रबाट निर्वासनलाई निषेध गर्दछन् ।