एजेन्सी । आइसल्यान्डको आम निर्वाचनमा बहुमत महिला सांसदमा चुनिएका छन् । संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो युरोपेली देश बनेको छ ।
आइसल्यान्डमा भएको निर्वाचनको अन्तिम परिणामअनुसार संसद्का ६३ सिटमध्ये ३३ जना अर्थात् ५२ प्रतिशत महिला निर्वाचित भएका हुन् । यो सन् २०१७ को भन्दा त्यहाँ ७ सिटले बढी महिला सांसदमा चुनिएका हुन् ।
अहिलेसम्म युरोपेली देशमा स्विडेनमा ४७ प्रतिशत सांसद महिला निर्वाचित भएका छन् । आइसल्यान्डमा महिलाका पक्षमा कुनै पनि आरक्षण छैन । त्यसैले पनि आइसल्यान्डको यो निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ ।
यसअघि रुवान्डा, क्यूबा, निकारागुआ, मेक्सिको तथा युएईमा पनि कम्तिमा ५० प्रतिशत महिला सांसद निर्वाचित भएका थिए ।