काठमाडौँ, १५ भदौः नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवा पहिलोपटक ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा रिङमा उत्रन लागेका छन् । यही भदौ २२ सेप्टेम्बर ७, २०२५ देखि जापानको टोकियोमा सुरु हुने प्रतियोगितामा उनले पहिलो खेल फ्रान्सका आइमेरिक लेजीजीसँग खेल्ने तालिका सार्वजनिक भएको छ ।
यो प्रतियोगितालाई किक बक्सिङ क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ । विश्वका चर्चित बक्सर सहभागी हुने यस प्रतियोगितामा घिमिरेले पहिलो खेल जितेमा कात्तिक २९ नोभेम्बर १५, २०२५ मा एकैदिन तीन खेल खेल्नुपर्नेछ । ती खेलमा पनि विजय हासिल गर्न सकेमा उनी विश्वकै नम्बर वान खेलाडी बन्ने सम्भावना रहेको आयोजकले जनाएको छ ।
घिमिरेले थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा विशेष प्रशिक्षण लिएर हाल जापानमा आफ्ना पिता एवं पूर्वअन्तर्राष्ट्रिय बक्सर देव घिमिरेकै मार्गदर्शनमा अभ्यास गरिरहेका छन् । अहिले टोकियोसहितका सार्वजनिक स्थलमा नेपाली झण्डासहित उनको प्रचार–प्रसार भइरहेको छ ।
जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले घिमिरेको सफलताको शुभकामना व्यक्त गर्दै उनको सहभागिता नै नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
अविरल घिमिरेले हालसम्म तीनपटक ‘टाइटल डिफेन्स’, चारपटक ‘हिट किकबक्सिङ टाइटल म्याच’, ‘इन्टरनेशनल किक बक्सिङ एशोसिएसन टाइटल’ र ‘के वान क्रस–१७५ टाइटल’ जितेका छन् । २५ अन्तर्राष्ट्रिय खेलमध्ये १९ जित हासिल गर्दा १८ पटक नकआउटमार्फत विजयी भएका छन् ।
गत जेठमा जापानको ओसाकामा सम्पन्न ‘के वान क्रस–१७५’ मा जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउण्डमै नकआउट गर्दै उनले एकैपटक तीन अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।
चन्द्रागिरि–१२ गुर्जुधारा बलम्बूका स्थायीबासी घिमिरे हाल जापानको नागोयामा बस्दै आएका छन् । उनका पिता देव घिमिरे पनि सन् २००४ मा ‘के वान प्रोफेशनल किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी बनेका थिए ।