काठमाडौँ, १८ भदौः काठमाडौँको पुतलीसडकमा आज वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिँदा एकजनाको अवस्था गम्भीर बनेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा धनकुटा छिन्ताङ–१ की ५ वर्षीय आशिका राई र काठमाडौँका ९ वर्षीय विवेक तामाङ घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते विवेक तामाङलाई अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने आशिका राईको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको माइक्रोबसले ती बालबालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।