काठमाडौँ, १८ भदौः मिस होस्टल नेपाल–२०२५ को उपाधि प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठले जितेकी छन् । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि सञ्चालन गरेको प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा सेन्ट्रल गल्र्स होस्टल पुतलीसडककी वन्दना खरेल दोस्रो र श्रीया गल्र्स होस्टल बुद्धनगरकी स्वर्णिमा सापकोटा तेस्रो स्थानमा परेकी छन् । विजेतालाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा छात्रावृत्ति प्रदान गरिएको छ । साथै, प्रथम हुने यहाना श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ ।
क्षेत्रीय उपाधिहरूमा मिस कोशी सुहाना मादेन लिम्बू, मिस मधेस खुस्बु खातुन, मिस बागमती रश्मीता शाक्य, मिस गण्डकी सुजाता बस्नेत, मिस लुम्बिनी स्वर्णिमा सापकोटा, मिस कर्णाली कविताकुमारी भण्डारी र मिस सुदूरपश्चिम वन्दना खरेल घोषित भए ।
त्यसैगरी उपाधिहरूमा अस्मिता महराले मिस कन्फिडेन्ट, याहान श्रेष्ठले मिस डिसिप्लिन, युनिशा थापाले मिस फोटोजेनिक, ऋतु बुढाथोकीले मिस काइन्डहर्ट र सरीता शाहले मिस फेन्डसिप जितेकी छन् । प्रतियोगिताको कोरियोग्राफर समिता बज्राचार्यले गरेकी थिइन् ।
विजेतालाई नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक तथा प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले ताज प्रदान गरे । कार्यक्रममा होस्टल व्यवसायी सङ्घका अध्यक्ष सुनिल भेटवालले होस्टलमा बस्ने विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउने खालका प्रतियोगिताले हौसला बढाउने भन्दै आगामी दिनमा पनि निरन्तरता दिने घोषणा गरे ।
आयोजक काराओके इन्टरटेन्मेन्ट प्रालिका प्रमुख खगेश रञ्जितका अनुसार होस्टलमा अध्ययनरत विद्यार्थीको उच्च शिक्षामा योगदान पुर्याउने र लुकेको प्रतिभा बाहिर ल्याउने उद्देश्यले पहिलो पटक मिस होस्टल प्रतियोगिता गरिएको हो । यसअघि संस्थाले मिस नेवाः आइकन, मिस नेवाः वल्र्ड, मिस नेशनललगायतका सौन्दर्य प्रतियोगिता आयोजना गरिसकेको छ ।