काठमाडौँ, १८ भदौः एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने खेल नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘के’ मा परेको छ । यस समूहमा ताजकिस्तानसँगै सिरिया र फिलिपिन्स पनि रहेका छन् । आजै हुने अर्को खेलमा सिरिया र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले दोस्रो खेल भदौ २१ गते सिरियासँग र तेस्रो खेल भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ । सिङ्गल राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपमा स्थान सुरक्षित गर्नेछ । साथै, ११ समूहमध्ये चार उत्कृष्ट उपविजेता टोलीले पनि छनोटमा स्थान पाउने प्रावधान छ ।
यस पटकको नेपाली टोलीमा गोलकिपरका रुपमा कृशल मोक्तान, अमित टमाटा र विशाल केसी रहेका छन् । डिफेन्डरमा विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु र सेमान्ता थापा छन् ।
मिडफिल्डमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामीले अग्रपंक्ति सम्हाल्नेछन् ।