काठमाडौँ, १८ भदौः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि स्थानीय बजारमा समेत नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजारले वृद्धि भएको हो । चाँदी भने प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० मा झरेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय मूल्यवृद्धिले नै नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घले बताएको छ ।
विशेषज्ञहरूका अनुसार हालको भू–राजनीतिक अस्थिरता, मुद्रास्फीति र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा लिँदै मूल्य निरन्तर बढिरहेको छ ।