बैतडी, १८ भदौः भारतको उत्तराखण्ड राज्यका विभिन्न जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिन थालेपछि नेपाल–भारत सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जोखिम बढेसँगै बैतडी जिल्लाका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा कुखुरा तथा कुखुराजन्य पदार्थ आयातमा रोक लगाइएको हो ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तका अनुसार बर्डफ्लु नेपाल भित्रिन नदिन सीमाक्षेत्रमा विशेष कडाइ गरिएको छ । उनले भने, “भारतको सीमा नजिक भएकाले सतर्कता उच्च स्तरमा पुर्याइएको छ, अनुगमन पनि तीव्र पारिएको छ ।”
भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि नेपालका सीमा जोडिएका क्षेत्रलाई उच्च सतर्क क्षेत्र घोषित गरिएको हो । स्थानीय तहहरूले सूचनामार्फत कुखुरा तथा कुखुराजन्य पदार्थ ल्याउने वा कारोबारमा संलग्न हुने गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् । साथै, सूचना अवज्ञा गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।
बर्डफ्लु कुखुरा र अन्य पक्षीमा फैलिने अति सङ्क्रामक रोग हो । यसबाट प्रभावित व्यक्तिमा उच्च ज्वरो, टाउको दुखाइ, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । गम्भीर अवस्थामा निमोनिया, श्वासप्रश्वासको समस्या हुँदै ज्यानसमेत जोखिममा पर्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
विशेषज्ञहरूले बर्डफ्लु फैलिन सक्ने सम्भावना सीमाक्षेत्रमा बढी हुने भएकाले सर्वसाधारणलाई सतर्क रहन, आवश्यक जानकारी तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा पशुसेवा कार्यालयमा दिन आग्रह गरेका छन् ।