चितवन, १५ भदौ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले क, ख र ग वर्गका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने तथा चालकलाई आवश्यक स्वास्थ्य तालिम र सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
सङ्घका अनुसार देशभर करिब छ हजार एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये ८० प्रतिशत एम्बुलेन्स हाल ऐनका कारण नवीकरण हुन नसकेको गुनासो गरिएको छ । त्यस्तै सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था मिलाउनुपर्ने, चालकलाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने माग समेत गरिएको छ ।
अध्यक्ष नवराज लामिछानेको नेतृत्वमा गएको टोलीले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका नेता डा. शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यसअघि पनि सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइसकेको थियो । साथै, विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाइएको सङ्घले जनाएको छ ।