काठमाडौं, १६ भदौः माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ १६ गते काठमाडौंको होटल सोल्टीमा ‘मजदुरसँग सांसद’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहने जानकारी संघले दिएको छ ।
संघका अनुसार पर्यटन क्षेत्रका श्रमिकको हकहित सुनिश्चित गर्न, श्रम क्षेत्रमा व्याप्त बेथिति र न्यूनतम सेवा सुविधा नदिने प्रवृत्ति तथा गैरकानुनी श्रम अभ्यासविरुद्ध निरन्तर अभियान चलाइरहेको छ । यसअन्तर्गत सेवाशुल्क खारेजीपछि पुनः प्राप्तिका लागि गरिएको दबाब र संघर्षलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विशेष गरी १० प्रतिशत सेवाशुल्क कानुनी रूपमा पुनः व्यवस्थाका लागि सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याएको छ । आर्थिक वर्ष २०८२।८३ को बजेट वक्तव्यमा १० प्रतिशत सेवाशुल्क लागू हुने घोषणा भए पनि तीन महिनासम्म सरकारले कुनै पहल नगरेकाले श्रमिक दबाब अपरिहार्य भएको संघको भनाइ छ ।
सो अवसरमा श्रमिक हस्ताक्षर अभियान पनि सञ्चालन हुने बताइएको छ । यसअन्तर्गत होटल, मोटल, रेष्टुराँ, रिसोर्ट, क्यासिनो, फास्टफुड, रात्रिकालीन मनोरञ्जन, केबलकार र पार्टी प्यालेसमा कार्यरत श्रमिकलाई सहभागी गराएर हस्ताक्षर संकलन गरिनेछ । हस्ताक्षर अभियान संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियूसिसि मार्फत सरकारलाई बुझाइनेछ ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष कुमार पन्तका अनुसार अभियान भदौ १६ देखि सुरु भएर सातै प्रदेशमा विस्तार हुनेछ ।