कृष्णनगर कपिलवस्तु, १५ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने कुरा जानकारी दिएका छन । चन्द्रौटामा आज आयोजित कार्यक्रममा मन्त्री अधिकारीले कोलकाताबाट आयात गरिएको मल सातादश दिनभित्र आइपुग्ने र किसानले सहज रूपमा पाउने जानकारी दिए । उनले मलको हाहाकार नहुने भन्दै किसानलाई आश्वस्त पारे ।
मन्त्री अधिकारीले मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्ने र ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति नबेहोर्नु पर्नेमा संवेदनशीलता अपनाइने बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलामले सरकारी मल वितरण प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिए भने जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउ र अन्य सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजना तयार गर्न सुझाव दिएका छन ।