दमौली तनहुँ, १८ भदौः तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति भएको दुई स्कुटरबीचको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आएको अर्को स्कुटर ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो । गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।