धरान सुनसरी, १६ भदौ । सप्तकोशी नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएको छ । आइतबार राति १० बजे गरिएको जलसतह मापनमा नदीमा प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पानीको प्रवाह भएपछि सतर्कता स्वरूप रातो बत्ती बालिएको हो ।
यसअघि आइतबार दिउँसो २ बजे प्रतिसेकेण्ड एक लाख ७४ हजार ३७५ क्युसेक पानीको बहाव हुँदा २३ ढोका मात्रै खोलिएका थिए । तर बेलुकीसम्म पानीको सतह तीव्र रूपमा बढ्दै गएपछि ढोका थप खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने प्रावधान रहेको कन्ट्रोल रुमले जनाएको छ ।
प्रहरीका अनुसार हालको बाढी बढ्नुमा पहाडी भेगमा भइरहेको लगातारको वर्षा मुख्य कारण हो । सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।