शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको भव्य जात्रा सुरु


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/10129
    भदौ १९, २०८२ बिहीबार
    प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको भव्य जात्रा सुरु

    बैतडी, १९ भदौ – दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा भव्य जात्रा सुरु भएको छ । मन्दिरका मूल पुजारी देवदत्त भट्टका अनुसार मेला भाद्र शुक्ल द्वादशीबाट सुरु भएको हो ।
    भट्टले जानकारी दिए कि भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट माताको सवारी मन्दिरमा ल्याउने प्रचलन रहिआएको छ । यसैअनुरूप आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गरियो । भक्तजनहरूले तीन रातसम्म जाग्राम बसेर पूजा आराधना गर्न थालेका छन् ।
    जात्रामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरी जात्रा ल्याउने परम्परा छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिने गरेको विश्वासका कारण दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन निरन्तर रहँदै आएको हो । स्थानीय बासिन्दा दीपेन्द्र बोहराका अनुसार यस जात्राको मुख्य आकर्षण स्वराडी–बैतडाको जात हो ।
    भाद्र शुक्ल त्रयोदशीमा स्थानीय भाषामा ‘नानी जात’ र भाद्र शुक्ल चतुर्दशीमा ‘ठूली जात’ हुने प्रचलन रहेको मन्दिरको धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए ।
    निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्छ । यी मेलामा नेपालसहित सीमावर्ती भारतीय दर्शनार्थी पनि दर्शनका लागि आउँछन् । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्यपूर्णिमामा बलि दिने प्रचलन छैन ।
    स्थानीय विश्वास अनुसार निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने बताइएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा देउडा नृत्य पनि हुने गर्दछ, जसले दर्शकलाई मनोरञ्जनसहित धार्मिक अनुभव पनि प्रदान गर्दछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij