१६ भदौ, काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको ६.० तीव्रताको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तान सीमा नजिकै आएको भूकम्पमा ११५ भन्दा बढी घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूले उद्धृत गर्दै बीबीसीले जनाए अनुसार घाइतेहरूको उपचार नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा भइरहेको छ । भूकम्पको गहिराइ ८ किलोमिटर रहेको र त्यसपछि कम्तीमा तीन पराकम्पन आएको जानकारी प्राप्त भएको छ ।
एएफपीका अनुसार, भूकम्पले अफगानिस्तानको राजधानी काबुल करिब २०० किमि टाढा र पाकिस्तानको राजधानी इस्लामाबाद करिब ४०० किमि टाढा समेत हल्लाएको थियो । प्रभावित प्रान्तहरू दुर्गम र पहाडी भएकाले मृतक संख्या अझै बढ्ने आशंका गरिएको छ ।
तालिबान सरकारका अधिकारीहरूले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहायता संस्थाहरूसँग हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन् । बाढी र भूकम्पपछि आएको पहिरोले सडक अवरुद्ध भएकोले उद्धार कार्य हवाई मार्गमार्फत मात्र सम्भव भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीसीले यो भूकम्पमा सयौँ मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । तालिबान स्रोतहरूले धेरै घरहरू भग्नावशेषमुनि पुरिएको र अझै सयौँ मानिस मारिन सक्ने वा घाइते हुन सक्ने आशंका व्यक्त गरेका छन् ।