शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

सप्तकोसीमा पानीको सतह बढ्यो, ३८ ढोका खोलिँदा सतर्कता अपनाउन आग्रह


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/10078
    भदौ १७, २०८२ मंगलबार
    सप्तकोसीमा पानीको सतह बढ्यो, ३८ ढोका खोलिँदा सतर्कता अपनाउन आग्रह

    धरान सुनसरी, १७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भइरहेको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ढोका खोलिएको हो ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा नदीमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । दिउँसो ४ बजेको मापनमा प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका मात्र खोलिएको भए पनि राति पानी थप बढेपछि ३८ ढोका खोलिएको हो ।
    कोसी ब्यारेजमा अहिले रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी पानी प्रवाह हुँदा खतराको संकेतका रूपमा प्रयोग गरिन्छ । प्रहरी प्रवक्ता खतिवडाले “रातो बत्ती जल्नु भनेको खतराको सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकारवालालाई उच्च सतर्क रहन चेतावनी दिन्छ” उनले भने ।
    हाल तत्काल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि निरन्तरको वर्षाले नदीको सतह अझै बढ्न सक्ने भएकाले सतर्क रहनुपर्ने चेतावनी सम्बन्धित निकायले दिएको छ । सप्तकोसी आसपासका बासिन्दालाई जोखिमपूर्ण क्षेत्रमा नजान, सतर्कता अपनाउन र आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।
    यसअघि पनि लगातार वर्षासँगै कोसी ब्यारेजका ढोका खोल्दा तराईका तटीय क्षेत्र डुबानमा पर्ने गरेको अनुभव भएकाले यस वर्ष पनि सम्भावित जोखिमबारे सचेत रहनु अत्यावश्यक रहेको विज्ञहरूको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij