शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/10079
    भदौ १७, २०८२ मंगलबार
    ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित

    पाटन ललितपुर, १७ भदौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित गरिएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै नेतृत्व प्रदान गरेको योगदानका आधारमा महर्जनलाई अवार्ड प्रदान गरिएको हो ।
    पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महर्जनलाई अवार्ड प्रदान गरेका छन । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि उत्कृष्ट कार्यका लागि सम्मान गरिएको थियो । सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार ललितपुरलाई बस्नयोग्य, सम्पदामैत्री र दिगो सहरका रूपमा विकास गर्ने महर्जनको भूमिकाले उनलाई अवार्डका लागि योग्य बनाएको हो ।
    दुई कार्यकालसम्म महानगर प्रमुख रहेका महर्जनले सार्वजनिक सेवामा नवीनतम र दिगोपनालाई जोड दिँदै मुलुककै पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन, बीउ र खानेपानी वितरण मेसिनजस्ता सेवाहरू सञ्चालन गरेका छन । साथै, सम्पदा संरक्षण, वृक्षरोपण, निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आउएका छन ।
    सन् १९५७ मा पुल्चोकमा जन्मिएका मर्हजन बाल्यकालमा नै पिताको निधन भएपछि सामुदायिक सहयोगबाट शिक्षामा अघि बढेका थिए। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका उनले वडाध्यक्षबाट राजनीतिक यात्रा सुरु गरी तीनपटक वडाध्यक्ष र दुई कार्यकाल नगरप्रमुखको भूमिका निर्वाह गरेका छन । नेपाली कांग्रेसका नेता महर्जन जवाफदेही, इमानदार र नागरिकमैत्री शासनका पक्षधरका रूपमा परिचित छन ।
    सोही कार्यक्रममा बालकृष्ण श्रेष्ठ, डा. बसन्त पन्त, राजेन्द्र मल्ल, ज्योत्स्ना श्रेष्ठ, मनोज ज्ञवाली, सुसन कर्माचार्य, सन्तोष प्रसाईं, शिव परियार, केकी अधिकारी लगायतका व्यक्तित्वलाई विभिन्न अवार्डद्वारा सम्मान गरिएको थियो । साथै चीन, कम्बोडिया, बङ्गलादेश, मलेसिया, भुटान र थाइल्यान्डका विभिन्न व्यक्तित्वहरूलाई पनि क्षेत्रगत योगदानका आधारमा अवार्ड प्रदान गरिएको आयोजक वन्तले जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij