जलजले दैलेख, १७ भदौ । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरिएको पेट्रोलियम अन्वेषणले नेपालमै सबैभन्दा ठूलो पेट्रोलियम र प्राकृतिक ग्यासको भण्डारण भएको संकेत देखाएको छ । चीनको जियोलोजिकल सर्भे कम्पनी र खानी तथा भूगर्भ विभागको संयुक्त नेतृत्वमा विसं २०७८ वैशाख २८ गतेदेखि सुरु भएको अन्वेषणको प्रारम्भिक प्रतिवेदनले मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने सम्भावना उजागर गरेको हो ।
पहिलो ड्रिलिङमार्फत ४ हजार १३ मिटर गहिराइसम्म पुगेको नमूनाको परीक्षणमा करिब एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण पाइएको छ । यो जम्मा चार सम्भावित कुवामध्ये पहिलो कुवाको मात्र नतिजा हो । बाँकी तीन कुवाबाट थप चार सय ३० अर्ब घनमिटर ग्यास हुने अनुमान गरिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने देखिन्छ ।
हाल नमूनाको विस्तृत परीक्षण चीनमा भइरहेको छ । पेट्रोलियम परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार अन्तिम प्रतिवेदन सन् २०२५ डिसेम्बरसम्म उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रतिवेदन प्राप्त भएपछि मात्रै व्यावसायिक उत्पादन र अन्य पूर्वतयारी अघि बढ्नेछ ।
नेपाल सरकारले यसलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक उत्पादन प्रक्रिया सुरु गर्न निर्देशन दिइसक्नुभएको छ । सोही प्रयोजनका लागि नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ, जसले ग्यासको सदुपयोग, पूर्वाधार आवश्यकतासहित व्यावसायिक सम्भाव्यता अध्ययन गरिरहेको छ ।
यो परियोजना चीन सरकारको पूर्ण अनुदानमा सञ्चालन भइरहेको पाइलट प्रोजेक्ट हो, जसको प्रारम्भिक लागत रु २ अर्ब ५० करोड अनुमान गरिएको थियो । कोभिड–१९ लगायतका कारण ढिलाइ भए पनि अन्वेषण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
स्थानीय बासिन्दाले पेट्रोलियम र ग्यासको प्रयोग धेरै वर्षअघि देखेका भए पनि वैज्ञानिक रूपमा पुष्टि हुन नसकेको अवस्था अब बदलिएको छ । दैलेखका विभिन्न स्थानमा तेल र ग्यास चुहिने घटना सामान्य भए पनि २०३६ सालदेखि थालिएको औपचारिक अध्ययनले मात्र हाल सफलता प्राप्त गरेको हो ।
यस्तो ठूलो भण्डारण पुष्टि भएपछि स्थानीयस्तरमा रोजगारीको अवसर, उद्योगमैत्री वातावरण र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । अन्वेषणमा भएको सफलता केवल दैलेखकै गर्व नभई सिङ्गो मुलुकका लागि ऊर्जा आत्मनिर्भरता तर्फको ऐतिहासिक पाइला मानिएको छ ।