धादिङ, १७ भदौ – धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै उच्च जोखिममा छ । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन, जसले यात्रु र चालकका लागि जोखिम निम्त्याइरहेको छ ।
स्थानीयवासी भरत ढुङ्गानाका अनुसार सडकको बीच भाग निरन्तर भासिँदै जाने क्रम छ, र बर्सेनि कालोपत्र मात्र गरेर मर्मत गरिएको छ । ठूला सवारीसाधनले आधा टायर पहिरोमा झुण्ड्याएर गाडी चलाउनु पर्ने अवस्था आएको छ ।
गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजनले मर्मतको ठेक्का लगाएको भए पनि भूगोल अध्ययन नगरी हचुवाका भरमा गरिएको काम पहिरोले क्षति पुर्याएको थियो । ग्यावियन जाली प्रयोग गरिए पनि दीर्घकालीन समाधान नभएकाले जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।
जानकारहरूको सुझाव अनुसार पहिरो रोक्न खोला किनारदेखि पर्खाल निर्माण गरेर मर्मत गर्नुपर्छ । हाल वैकल्पिक कच्ची सडक भए पनि हिलो र खाल्डाखुल्डी भएकाले प्रयोगमा आउन सकेको छैन ।
ससाह–देउराली चौतारो हुँदै मैदीभञ्ज्याङ र तल्लो ज्यामिरे निस्कने मार्गलाई सुधार गरी प्रयोगयोग्य बनाउँदा सम्भावित दुर्घटना रोक्न सकिने स्थानीयको भनाइ छ ।