काठमाडौँ, १७ भदौ । राष्ट्रियसभाले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० पारित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन जसलाई सभाले सर्वसम्मतिले पारित गर्यो ।
मन्त्री न्यौपानेले विधेयकले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्ने विश्वास व्यक्त गरेकी छन । उनका अनुसार अब कर्मचारी व्यवस्थापनमा भइरहेको अन्योल अन्त्य भई सहज परिस्थिति बन्नेछ ।
छलफलमा सांसदहरूले विधेयकप्रति समर्थन जनाउँदै विभिन्न सुझाव र धारणा राखे । विधान व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गर्दै प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन यसले योगदान पुर्याउने बताइन् ।
विधेयकले अवकाशपछि दुई वर्षसम्म अन्यत्र सेवा वा नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ । साथै, अनिवार्य अवकाश उमेर क्रमशः ५८, ५९ र ६० वर्ष लागू हुने व्यवस्था गरिएको छ ।
अब राष्ट्रियसभाबाट पारित विधेयक प्रतिनिधिसभामा पुग्नेछ । प्रतिनिधिसभाले संशोधनबारे निर्णय गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।