काठमाडौँ, १७ भदौः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोला रु २,०५,९०० कायम भएको छ । यो हालसम्मकै उच्च दर हो ।
सोमबार प्रतितोला रु २,०५,३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ बढेर रु २,४८५ पुगेको महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुनको माग उच्च नभए पनि विश्व राजनीति र अर्थतन्त्रमा देखिएका उतारचढावका कारण मूल्य वृद्धि भएको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।