काठमाडौँ, १८ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।
आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको विशेष टोलीले भण्डारीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।
भण्डारीलाई मालपोत कार्यालय धुलिखेलकै कार्यालय परिसरभित्रै नियन्त्रणमा लिइएको हो । पक्राउका क्रममा आयोगले उनको साथबाट रु दुई लाख नगदसहित मोबाइल फोन एक थान समेत बरामद गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खरिदार भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ । घुस प्रकरणमा संलग्न अन्य व्यक्तिहरु रहेका भए वा नरहेका विषयमा पनि अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।