शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

हनुमानढोका दरबार क्षेत्रको राजस्व दुई करोडले बढ्यो


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/10135
    भदौ २०, २०८२ शुक्रबार
    हनुमानढोका दरबार क्षेत्रको राजस्व दुई करोडले बढ्यो

    काठमाडौँ, २० भदौः ऐतिहासिक हनुमानढोका दरबार संरक्षण कार्यक्रमले गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा करिब रु दुई करोड बढी राजस्व आर्जन गरेको छ । कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानका अनुसार अघिल्लो आव २०८०।८१ मा रु १७ करोड ६९ लाख राजस्व सङ्कलन गरिएकोमा गत आव २०८१।८२ मा रु १९ करोड ४६ लाख संकलन भएको हो ।
    अघिल्लो आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ र अन्य मुलुकबाट १ लाख ५३ हजार २६२ पर्यटकले अवलोकन गरेका थिए । तर, गत आवमा यो सङ्ख्या बढेर सार्क राष्ट्रबाट ५० हजार ५३३ र अन्य मुलुकबाट १ लाख ६९ हजार ३९५ पुगेको थियो । पर्यटक संख्यामा भएको वृद्धिले राजस्व बढेको प्रमुख प्रधानले बताए ।
    हनुमानढोका दरबार क्षेत्रको प्रमुख आम्दानी स्रोत पर्यटकले तिर्ने प्रवेश शुल्क हो । हाल सार्क मुलुकका नागरिकका लागि शुल्क रु ५०० र अन्य मुलुकका पर्यटकका लागि रु १,००० तोकिएको छ । नेपाली नागरिकलाई प्रवेश शुल्क नलागे पनि संग्रहालय अवलोकनका लागि भने शुल्क लिइने गरिएको छ ।
    यो दरबार क्षेत्रमा जुनसुकै समयमा पर्यटकले भ्रमण गर्न सक्ने भए पनि जीवित देवी कुमारीको दर्शनका लागि विशेष समय निर्धारण गरिएको छ । बिहान ११ः०० देखि १२ः३० र साँझ ५ः०० देखि ८ः०० बजेसम्म कुमारी अवलोकन गर्न सकिन्छ ।
    प्रत्येक वर्ष भदौ, असोज र कात्तिक महिनालाई पर्यटक सिजन मानिन्छ । यस अवधिमा दैनिक करिब ७०० पर्यटकसम्म आउने गरेको बताइएको छ । यस वर्ष इन्द्रजात्रा नजिकिँदै गर्दा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ । इन्द्रजात्रा अवलोकनका लागि काठमाडौँ महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई निमन्त्रणा गर्ने परम्परा पनि रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij