शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

मनाङ–२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने


  • 217
    SHARES
  • https://indrenipost.com/index.php/posts/10134
    भदौ २०, २०८२ शुक्रबार
    मनाङ–२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    मनाङ, २० भदौः हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले रिक्त पद पूर्ति गर्न आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय गर्दै तालिका सार्वजनिक गरेको हो ।
    निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार २०७९ मङ्सिर ४ गते सम्पन्न चुनावमा निर्वाचित भएका प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे अयोग्य ठहर भएपछि यो पद रिक्त भएको हो । सर्वोच्च अदालत, संवैधानिक इजलासले संविधान र प्रदेशसभा सदस्य निर्वाचन ऐनका प्रावधानअनुसार गुरुङ उम्मेदवार हुन नपाउने ठहर गर्दै २०८१ कात्तिक २० गतेदेखि पद रिक्त रहेको निर्णय गरेको थियो ।
    संविधानको धारा १७६ (८०) बमोजिम कार्यकालमा ६ महिना भन्दा बढी बाँकी रहँदा पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही आधारमा आयोगले उपनिर्वाचनको मिति तय गरेको हो ।
    आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तालिका निर्धारण भइसकेको छ । उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते हुनेछ भने असोज २५ गते अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गरिनेछ । मतदान अधिकृत तथा कर्मचारी नियुक्ति कात्तिक ११ गते गरिने तालिका छ ।
    यसअघि २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मनाङ जिल्लामा जम्मा ६ हजार ७७९ मतदाता रहेका थिए । तीमध्ये ४ हजार ८४५ अर्थात् ७१.४७ प्रतिशतले मतदान गरेका थिए । निर्वाचन क्षेत्र नं २ मा मात्रै ४ हजार १९७ मतदाता रहेका थिए ।
    आयोगले यस पटकको उपनिर्वाचनमा भदौ २५ मा प्रकाशित हुने अद्यावधिक मतदाता नामावलीलाई आधार मान्ने जनाएको छ । मतदाता बन्ने उमेर सीमा कात्तिक १६ गतेसम्म १८ वर्ष पुगेकालाई कायम गरिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij