काठमाडौँ, २० भदौः जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशभर सामान्यतया बदली हुने जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित भएकाले मौसम बदली हुने देखिएको हो ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रहने र कोशी, वाग्मती, गण्डकी तथा सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा भने भारी वर्षा पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव डेब्रिज फ्लोको जोखिम बढ्ने, साना ठूला नदीनालामा पानीको सतह उच्च हुन सक्ने तथा यातायात क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ । यसका साथै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।