भादगाउँ, १९ भदौः परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । टोलटोलमा इन्द्रको प्रतीकस्वरूप ‘यम्वोः द्यो’ नामक सानो लिङ्गो ठड्याएर जात्रा प्रारम्भ गरिएको हो ।
संस्कृतिकर्मी ओम धौभडेलका अनुसार किवंदतीअनुसार इन्द्रपुत्र जयन्त पारिजात फूल खोज्ने क्रममा दैत्यद्वारा पक्राउ परेपछि देवता र दैत्यबीच युद्ध भएको र त्यसमा देवताको विजय भएपश्चात् यो जात्रा मनाउन थालिएको हो ।
आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ ।
भक्तपुरमा यो जात्रा परम्परागत रूपमा आठ दिनसम्म धुमधामका साथ मनाइने परम्परा रहिआएको छ ।