काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी एमालेले शुक्रबारदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन, अनुशासन आयोग अध्यक्ष केशव वडाल, लेखा आयोग अध्यक्ष डा.पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार अध्यक्ष ओलीको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति विश्लेषण, वर्तमान चुनौती, पार्टीको कार्यदिशा, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण, नेपाली विशेषतासहितको समाजवाद स्थापना र ‘समृद्ध नेपाल, सुखी नेपाली’को मार्गचित्र समेटिएको छ ।